Breaking News

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति

Jul Mon 2021 05:46:11

128 views

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो ।

आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको अनुमानमा आधारित भएर क्षतिको पूर्वानुमान गरेको हो 

बाढीबाट सुरुङ जोगिए पनि आयोजनाको बाँधसहितका बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले पुरिएका छन् । बनेका संरचनामाथि नै खोला बगिरहेकाले नदी नियन्त्रणको काम पनि प्रभावकारी ढंगले गर्नुपर्ने अवस्था आएको छ ।

‘क्षतिको एकीन विवरण बाढीले पुरिएका सबै संरचना हेरेर विस्तृत अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने, ‘आयोजनाको बाँधस्थलको पुनर्स्थापनाका लागि के-के गर्न सकिन्छ भनेर हाम्रो प्राविधिक टोली मेलम्चीमै छ ।’

आयोजनाको क्याम्प बनाउने लगायतका काम गर्ने तयारी भइरहेको छ । श्रेष्ठका अनुसार हेलमबु गाउँपालिकासँगको सहार्यका बाँधस्थलसम्म जाने सडक निर्माणको लागि प्रयास भइरहे पनि सम्भव भएको छैन । आयोजना स्थलमा टोली पुग्ने र फर्किने गरिरहे पनि जोखिम हुनसक्ने भएकाले सहज अवस्था बनेको छैन ।

‘हामी वर्षायाम सकिनुभन्दा अघि नै के-के काम कहिले र कसरी गर्ने भन्ने सबै कार्ययोजना तयार गरिसक्न चाहन्छौं,’ श्रेष्ठले भने, ‘तर, अहिले पनि बाढीले दुःख दिइरहेको छ, नदीले परियोजनाका संरचनामा क्षति पुर्याउने क्रम रोकिएको छैन ।’

हेलिकप्टरबाट एक्स्काभेटर लगेर नदी नियन्त्रण गर्नेबारे छलफल भएपनि त्यहाँ अहिल्यै गएर काम गर्न जोखिम हुने अनुमान गरिएकाले सम्भव नभएको आयोजनाले जनाएको छ ।

अस्थायी बाँधबाट पानी हाल्दै आएको आयोजनाको डाइभर्सन टनेलमा लेदो भरिएको अनुमान छ । ग्याल्थुम र अम्बाथानको अडिट टनेलमा समेत बाढीले क्षति पुर्याएका कारण सुरुङ खाली गराउन नसकेको आयोजना प्रमुख श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर