Breaking News

कक्षा १२ को परीक्षा भौतिक उपस्थिति मै साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय

Jul Tue 2021 01:14:26

70 views

कक्षा १२ को परीक्षा भौतिक उपस्थिति मै साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थिति मै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो । 


सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको जानकारी दिनुभयो  । परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न अनुमति पाएको बताउनुभएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।


मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।


विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।


गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर