Breaking News

भारतकी एक कट्टर महिलावादी महिला र उनको विवाहको भाइरल विज्ञापन

Jun Fri 2021 09:34:22

1154 views

भारतकी एक कट्टर महिलावादी महिला र उनको विवाहको भाइरल विज्ञापन

आजकाल विवाहका लागि योग्य वर वधु चाहियो भन्दै पत्रिकामा थुप्रै विज्ञापन देख्न पाइन्छ । तर एक कट्टर महिलावादी महिलाले आफ्नो विवाहका लागि यस्ता विज्ञापनको सायदै साहरा लिने गर्लिन् ।

यस्ता विज्ञापनमा कहिलेकाँही छालाको रङ, शारीरिक गुण, उचाई, अनुहारको आकार, कमाई, पारिवारिक धन र सम्पत्तिबारे कुरा गरिन्छ ।
यस्तो अवस्थामा जब अघिल्लो साता ‘छोटो कपाल भएकी, शरीरका विभिन्न अंग छेडेकी एक कट्टर महिलावादी महिला’ का लागि ‘नपाद्ने, नडकार्ने, ह्यान्डसम र धनाढ्य महिलावादी पुरुष’ को खोजी गर्दै भारतको सर्वाधिक बिक्रि हुने पत्रिकामा एउटा विज्ञापन प्रकाशित भयो तब त्यो भाइरल भयो ।हास्यकलाकार अदिती मित्तलले ट्वीटरमा यो विज्ञापनलाई ‘कसैले मेरो तर्फबाट यो प्रकाशित गरिदिएको हो ?’ भन्दै पोस्ट गरिन् ।

साथै, बलिउड नायिका रिचा चड्डाले यसबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

धेरैले यो विज्ञापन वास्तविक होला र ? भन्ने शंका गरे ।

बीबीसीले उक्त विज्ञापनमा दिइएको इमेल आइडीलाई ट्र्याक गर्दै जाँदा ती कट्टर महिलावादी महिला – साक्षी– बारे पत्ता लगाएको छ । यो विज्ञापन वास्तविक नभई एक भाइ, दिदी र एक मिल्ने साथीले रमाइलोको लागि गरेको जानकारी प्राप्त भएको छ । साक्षीका भाइ श्रिजन र उनकी मिल्ने साथी डमयेन्तिले यस्तो ‘खेल’ रचेका हुन् ।

यहाँ दिइएका सबै नाम काल्पनिक हुन् । उनीहरुले आफ्नो पहिचान उजागर होस् भन्ने चाहेका छैनन् । साक्षीले भनिन्, ‘हामी सबै आफ्नो करियरमा अघि बढिरहेका छौं । आशा छ भविष्यमा हाम्रो करियर राम्रो हुनेछ र हामी ‘रक्तपिपासु’ सोसल मिडिया ट्रोल्सको निशानामा पर्न चाहन्नौं ।’

श्रिजनका अनुसार ‘हामीले साक्षीको ३० औं जन्मदिनका लागि एउटा रमाइलो गरेका मात्रै हौं ।’

‘३० वर्ष लाग्नु भनेको हाम्रो समाजको ठूलै कुरा हो किनभने यतिबेला समाज तथा परिवारले विवाहका लागि दबाब दिन सुरु गर्छन्,’ उनले भने ।

साक्षीका अनुसार उनको छोटो कपाल छैन न नै शरीरका कुनै अंगमा छेदन गरेकी छिन् । उनी सामाजिक क्षेत्रमा काम गर्छिन् र पाद्ने र डकार्ने परिवारसँग ठट्टा गर्दा चल्ने बताइन् ।

यो विज्ञापनका लागि १३ हजार भारु खर्च भएको श्रिजनले बताए । लकडाउन नभएको भए यो रकम जन्मदिनको पार्टी मनाउन खर्च गरिने पनि उनले बताए ।

जन्मदिनको एकदिन अघि साक्षीले उनको भाइले उनलाई एउटा र्याप गरिएको गिफ्ट दिएको बताइन् । साक्षीका अनुसार त्यसभित्र गोलो लाम्चो आकारमा बटारेको पेपर थियो । त्यसभित्र जिमेल ठेगाना र त्यसको पासवर्ड थियो ।

उनले भनिन्, ‘त्यो के हो, त्यसले के गर्ने मलाई केही पनि थाहै थिएन । बिहान श्रीजनले मेरा लागि पत्रिका किनेर ल्याए र विवाहको विज्ञापन गरिने पेज खोलेर देखाएपछि हामी असाध्यै हाँस्यौं । यो असाध्यै राम्रो प्र्याङ्क थियो ।’

तर नीजि ठट्टाका लागि गरिएको विज्ञापन त्यतिबेला चर्चाको केन्द्रमा छायो जब यसलाई सेलिब्रिटीले सेयर गरे । यसमा सयौंले कमेन्ट गरे र नयाँ बनाइएको इमेल ठेगानामा दर्जनौं मेल आए ।

‘मैले ६० वटा इमेल पाएकी छु । धेरैले मैले यसमा ठट्टा गरेको नै बताएका छन्, ’ साक्षीले भनिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर