full screen background image
Search

बहुक्षेत्रिय पोषणमा लगानी अधिक उपलब्धी न्युन

दलसिंह गिरी
असार २७ कालिकोट/जिल्लामा कुपोशित बालबालिकाको संख्यामा बृद्धि देखिए पछि यसको न्यूनिकरणका लागि विभिन्न दातृनिकायहरुको सहयोग, नेपाल सरकार र पोषण तथा खाध्य सुरक्षा नेपालको समन्वयमा संचालित बहुक्षेत्रिय पोषण आयोजनामा बार्षिक करिव ८७ प्रतिशतमात्र बजेट खर्च भएको एक कार्यक्रममा जनाईएको छ । कुपोषण न्युनिकरणका लागि विभिन्न ७ वटा विषयगत सरकारी कार्यालयहरुद्धारा संचालित बहुक्षेत्रिय पोषण योजना अन्तर्गत बार्षिक १ करोड १४ लाख बजेटमा ९९ लाख ६ हजार ३ सय १७ बजेट अर्थात ८७ प्रतिशत बजेट मात्र खर्च भएको जनाइएको हो ।

जिल्ला स्तरीय पोषण तथा खाध्यसुरक्षा समन्वय समिति कालिकोटको बार्षिक समिक्षा बैठकमा आआफ्नो बार्षिक प्रगति प्रस्तुत गर्दै ७ वटा विषयगत कार्यालयहरुले नँया संरचनाले गर्दा जिल्ला समन्वय समितिको बैंक खाता परिवर्तन हुनु नसक्दा कोलेनिका बाट रकम निकाशामा ढिलाई भएको । बिषयगत कार्यालयहरु सयुक्त रुपमा कार्यक्रम संचालनमा कठिनाई । स्थानीय चुनाबका कारण बिषयगत कार्यालयका कर्मचारी ब्यस्त हुन गै समयमा रकम निकाशा नभई कार्यक्रम संचालनमा कठिनाई लगायतका समस्या देखाउदै यस्तो तथांक सार्वजनिक गरेका हुन् ।bahu posan

समस्या र चुनौति बढी देखाएका कार्यालयहरुले कार्यक्रमको अनुगमनमा भने जम्मा खर्च बजेटको करिव ५ प्रतिशत बजेट अनुगमनमा खर्च गरेको तथांक सार्बजनिक गरेका छन् । चालु आर्थिक बर्षमा कार्यक्रम संचालन पूर्व बार्षिक कार्यक्रम सार्बजनिक गर्दै जिल्ला विकास समन्वय समितिबाट सम्पूर्ण विषयगत कार्यालयहरुले संचालन गरेका कार्यक्रमहरुको संयुक्त अनुगमन गर्ने भनि करिव २ लाख बजेट छुट्याइने जनाईए पनि अन्तत जिल्ला शिक्षा, जिल्ला खानेपानी, महिला तथा बालबालिका, जिल्ला स्वास्थ्य लगायतका कार्यालयहरुले आन्तरिक अनुगमन शिर्षक राख्दै सबै करिव ४ लाख ६८ हजार बजेट अनुगमनमा मात्र खर्च गरिएको पाइएको छ ।

जिल्लामा बढ्दो कुपोषण न्यूनिकरणका लागि करोड बढी बजेट छुट्याई कार्यक्रम संचालन भएपनि बिषयगत कार्यालयले गरेका प्रगतिको जानकारी तथा समिक्षा, जिल्लामा पोषणको अवस्था बारे जानकारी गराउने उद्देश्यले संचालत गरिएको बैठकमा प्रस्तुत गरिएको तथांक हेर्दा कुपोषणको अवस्था सुधारउन्मुख नरहेको पाईएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्यले प्रस्तुत गरेको तथांक जिल्लाभर हेर्दा आर्थिक बर्ष २०७१।०७२ तिर ६.३ रहेको मा आर्थिक बर्ष २०७२।०७३मा बढेर ६.७७ रहेको, न्यूनपोषण भएका बालबालिकाको अवस्था पनि बढेर १७.१ बाट १७.४ पुगेको देखिन्छ । कार्यक्रम लागु भएका साविकका धौलागोह, सिपखाना, खिन, सुकाटिया, थिर्पू, ओन्दानाकु, राम्नाकोट, नानीकोट, बदालकोट, रकु, रुप्सा, मालकोट गाविसमा बहुक्षेत्रिय पोषण योजना कार्यक्रम संचालन भै बालबालिकामा केही सुधार आएपनि अन्य गाविसहरुको तथांकका कारण कुपोषणको अवस्था सुधार उन्मुख नदेखिएको आयोजकले जनाएका छन् । जिल्लाभर कुपोषण न्यूनिकरणका लागि राष्ट्रिय पोषण कार्यक्रम, बहुक्षेत्रीय पोषण योजना शीघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा आयोजना, बिषयगत कार्यालयका पोषण सम्बन्धि कार्यक्रमहरु संचालन भैरहेपनि उल्लेख्य उपलब्धी नआइसकेको आयोजनकले जनाएका हुन् ।

समिक्षा कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले कार्यक्रमको बार्षिक खर्चको अवस्था र आइपरेका चुनौती एक आपसमा बाझिएको बताउनु भएको छ । प्रस्तुत बजेट तथा गरिएका क्रियाकलाप माथि टिप्पणी गर्दै पाण्डेले बजेटका नाममा शिर्षक राखिएको हो कि भन्दै प्रतिप्रश्न गर्नु भएको छ । जिल्ला विकास समन्वय समितिका प्रतिनिधि प्रबलजंग शाहीको अध्यक्षतामा संचालन भएको समिक्षा बैठकमा अब आउने बर्षमा कार्यक्रममा सुधार्दै लैजान निर्णय गर्दै सम्पन्न भएको छ ।



Comments