full screen background image
Search

स्वास्थ्यमा नर्सिङ सेवा र यसभित्रका कुरा

KB masalके.बि.मसाल

प्राचिन समय जतिबेला डाक्टर थिएनन्, औषधी र अस्पताल हुने कुरै भएन । त्यो समयको कुरा हो झाँक्री चलन मानौ त्यति बेलाको एउटा ब्यबस्थाको अँग थियो । धर्म संस्कारका कतिपय पुजाहरु झाँक्रीले नै गर्ने प्रचलन थियो । रोगको उपचारपनि झाँक्रीले नै गर्दथे । अरु के कुरा चोर समाउने काम पनि झाँक्रीले नै गर्दथे । आज हामीलाई झाँक्री चलन र उपचार बिधिहरुको बारे सुन्दा पनि एकादेशको कथा भइसकेको छ ।

नेपालमा एलोपेथी औषधि र अस्पतालको विकाससंगै नर्सिङ पेसाको सुरुवात भएको हो । विश्व इतिहास हेर्दा सन् १८५४ मा बेलायत र रुसको युद्ध समयमा इटालिमा जन्मेकी फ्लोरेन्स नाइटिङगेलले टर्कीको मिलिटरी हस्पिटलमा घाइते सिपाहीहरुलाई दिएको सेवा नै पहिलो महिला नर्स मानिन्छ । त्यस कारण नर्सिङ इतिहासको पहिलो नर्स नै उनलाई मानिएको छ ।

आर्थिकरुपले सम्पन्न परिवारमा सन १८२० मे १२ मा इटालीको फ्लोरेन्स भन्ने शहरमा जन्मेर हुर्केकी नाइटिंगेल औपचारिक शिक्षाको हिसाबले तथ्यांकशास्त्री थिइन । मानव सेवाको भावनाले असहाय, रोगी, गरिब, दुःखी र वृद्धवृद्धाको सेवामा उनी आजीवन समर्पित भइन् । त्यसैले अहिले मे, १२ मा फ्लोरेन्स नाइटिङगेलको जन्म दिन विश्वमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिएको छ ।

हाम्रो समाजमा कुनैबेला नर्स भन्नेबितिक्कै बिरामीको स्याहार सुसार गर्ने मानिस हो भन्ने धारणा थियो । तर हिजोआज हामीमा धेरै कुराको शिक्षा र चेतना बढेको छ । जसले गर्दा स्वास्थ्यको क्षेत्र र बुझाइमा धेरै नै फराकिलो हुदै गएको छ । मानिस स्वस्थ्य रहनलाई शारिरीक रुपमा मात्र स्वस्थ्य भएर हुन्न मानसिक रुपमा पनि स्वस्थ रहनु पर्दछ भन्ने कुराको विकास भएको छ ।

चार दशक अगाडीसम्म नर्सिङ पेशालाई समाजले हेर्ने दृष्टिनै फरक थियो । तर आजभोली यो पेशा संमानित भएको छ । जसले गर्दा आजभोली नर्सिङ धेरैको लागि आकर्षणको पेशा बनेको छ । तर प्रतिस्पर्धामा उत्रिएर नर्सिङ पेशामा प्रवेश गर्न भने सजिलो छैन ।

नेपालमा नसिंङ अध्यनको शिक्षा वि सं १९८५ बाट सुरु भएको हो । सुरुमा चारजना नेपालीले सुत्केरी गराउने विधिको अध्ययन गरेपछि सुरु भएको नेपालको नर्सिङ शिक्षाले पछिल्ला दिनहरुमा यो शिक्षा र सेवाले यतिबेला निकै आकर्षणको क्षेत्र बन्दै गएको छ । वि।सं।२०१३ सालमा विश्व स्वास्थ्य संगठनको सहयोगमा बीर अस्पतालबाट औपचारिक रुपमा नर्सिङ शिक्षाको पठनपाठन सुरु भएको थियो ।

सुरुमा १० जना विद्यार्थीबाट सुरुआत भएको नर्सिङ अध्यापन आज बर्षेनी हजारौको संख्यामा अध्यापन भइरहेको छ । नेपालको पहिलो नर्स उमादेवी दास हुन । उनले नर्सिङ शिक्षाको अध्ययन भारतबाट गरेकी थिइन । त्यतिखेर नेपालमा कुनै पनि नर्सिङ अध्यन गर्ने विद्यालय थिएन । त्यसैले उनलाई सरकारले छात्रवृत्ति स्वरुप अध्ययनको लागि भारतमा पठाइएको थियो ।

पछि २०२८ सालबाट विश्वविद्यालयले नर्सिङ शिक्षाको अध्ययन सुरु गरेको हो । विश्वविद्यालयले वि।सं।२०३३ सालबाट बि।एन। र २०५२ सालबाट स्नातकोत्तर तहको पठनपाठन पनि सुरुवात गर्दै आएको छ । पछिल्ला दिनमा २०५३ देखि बीपी कोइराला मेमोरियल अध्ययन प्रतिष्ठान धरानले पनि बि।एस्सी।नर्सिङको पढाई सञ्चालन गर्दै आएको छ ।

नर्सिङ अध्यनको शैक्षिक गुणस्तर भने प्राइभेटभन्दा सरकारी कलेजको राम्रो मानिन्छ । प्राइभेटको तुलनामा सरकारी शिक्षण संस्थामा कमशुल्कमै अध्ययन गर्न पाइन्छ । अहिले सञ्चालनमा रहेका प्राइभेट कलेजको वार्षिक शुल्क सरकारी नर्सिङ कलेजको भन्दा तीन गुणा बढी छ । तर पनि सरकारी शिक्षण संस्थाहरुमा सिट नपाएपछि अधिकांश नर्सिङ पढने विद्यार्थीहरु प्राइभेट शिक्षण सस्थामा जाने गरेका छन ।

नेपाल नर्सिङ परिषदमा दर्ता भएका नर्सहरुको पछिल्लो तथ्यांकलाई आधार मान्ने हो भने हालसम्म नेपालमा नर्स १९ हजार ९८ जना, अनमी १९ हजार ८५१ जना र विदेशी नर्स ७४९ जना गरी कुल ३९ हजार ६८८ हजार नर्स उत्पादन भइसकेका छन् । साथै सरकारी र निजीस्तरका गरी जम्मा २४४ नर्सिङ कलेजलगायत अन्य मुलुकमा समेत नर्सिङ जनशक्ति उत्पादन हुने क्रम जारी छ ।

तर दुःखको कुरा हाम्रो स्वास्थ्य मन्त्रालयसँग मुलुकभर जम्मा ६ हजार ५५३ जनाको मात्र नर्सको दरवन्दी छ । त्यसमा पनि अधिकांश सरकारी अस्पतालमा अधिकृत स्तरका नर्सको दरवन्दी लामो समयदेखि रिक्त अवस्थामा रहेको छ । सरकारी सेवा बाहेक निजी तथा गैरसरकारी क्षेत्रमा गरी मुलुकभर करिब ८–१० हजार नर्सहरु कार्यरत रहेको अनुमान गरिन्छ ।

यसरी हेर्दा मुलुककमा उत्पादन भएका नर्सहरुको एक तिहाई संख्या मात्र नेपालमा खपत भइरहेको देखिन्छ । मुलुकमा उत्पादितमध्ये बाँकी दुई तिहाई अर्थात् करिब ६६ प्रतिशत नर्सिङ जनशक्ति कामको खोजीमा बिदेश पलायन हुदै आएको अवस्था छ ।

नेपालमा हालसम्म १०३ वटा संस्थाले तीन वर्षे नर्सिङ विषय अध्यापन गराउने मान्यता लिइसकेका छन भने बि।एस्सी।नर्सिङका लागि २५ वटा, बि।एन।का लागि १९ वटा, मास्टर अफ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन । नेपालमा नर्सिङ विषय पढाउने कलेज अत्याधिक खुलेका र त्यसलाई नियन्त्रण गर्नेतर्फ कुनै प्रयास नगरिएका कारण अब नेपालमा उत्पादित नर्स स्वदेशका लागि भन्दा पनि विदेशको लागि उत्पादन भएको हो भन्ने कुरा बुझन पर्ने भएको छ ।

विकसित मुलुकमा ६ सयदेखि ८ सयजना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बढी बिरामी हेर्नुपरेको छ । घर परिवार र समाजलाई स्वास्थ्यको बारेमा सजग गराइ रोगमुक्त परिवार र समाज निर्माण गर्नको लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहन्छ । हिजोआज स्वास्थ्य भन्ने कुरा मात्र शारिरीक स्वस्थतासंग जोडेर हुन्न तसर्थ नर्सहरुको आफ्नो घर परिवार र समाजको शारिरीक र मानसिक स्वस्थ्य राख्नको लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहन्छ ।

६० प्रतिशत युवती स्टाफ नर्सको अध्ययनपछि विदेशमा करिअर बनाउने सोचमा रहेको पाइन्छ । यूरोप, अमेरिका, तथा अष्ट्रेलियामा हजारौं नेपाली नर्स कार्यरत रहनुले पनि यो शिक्षा विदेश जाने सोच बनाउनेहरुका निम्ति आकर्षक विषय साबित भएको छ । एक तथ्यांकअनुसार प्रत्येक वर्ष अमेरिकामा मात्र ६ हजार नर्सको माग हुन्छ । एकातर्फ नेपालमै सरकारी तथा निजी चिकित्सालयको संख्या बढ्दै जानु र अर्कातर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज माध्यम बन्नुले पनि नर्सप्रतिको आकर्षण बढेको छ । नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण संख्या बढेपनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको छ । अर्कोतर्फ भएका अस्पताल र सस्थ्य केन्द्रहरु शहर र शहर उन्मूख क्षेत्रमा केन्द्रित भएकाले समस्या बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु पनि नर्सिङ पेशा भित्रका समस्या हुन ।

हिजो नर्सिङ पेसामा संलग्न र आज नर्सिङ पेसामा संलग्न नर्सको कार्यशैलीमा केही परिवर्तन भएको पाइन्छ । कतै नर्सहरुमा सेवाभावनामा कमी आएको पो हो कि रु कतै ती व्यावसायिकतातिर पो गएका हुन कि रु यी कुराहरु नेपाली समाजको चिन्ता र चासोको विषय पनि बन्ने गरेको छ । यस पेसामा संलग्नहरु आज अमेरीका, अस्टूेलिया, बेलायत र क्यानडाको भिसा लगाउन आतुर रहेको पाइन्छ ।

नर्स हुन सजिलो छैन । त्यसमा पनि असल र गुणकारी नर्स बन्न त झनै कठिन छ । तर पनि स्वास्थ्यको क्षेत्रमा कर्मप्रति इमान्दार नर्सहरु प्रशस्त भेटिन्छन । सेवामुखी पेसा नर्सिङतर्फको आकर्षण पनि दिनानुदिन बढ्दै गइरहेको छ । यससँगै केही विकृति र कमजोरी पनि भित्रिदै गएका छन । हुनत सेवालाई प्रमुख प्राथमिकतामा राख्ने नर्सिङ पेसालाई कर्तव्य र धर्म ठान्ने नर्सहरुकै कारण अस्पतालमा बिरामीले उचित सहयोग पाइरहेका हुन्छन । बिरामीको स्याहार सुसारमा आफ्नो समय बिताउने नर्सहरुप्रति जति सम्मान व्यक्त गरे पनि कम हुन्छ । एउटा कुशल नर्सको राम्रो व्यवहारकै कारण बिरामी र बिरामीका आफन्तले ठूलो राहत महसुस गर्छन । त्यसैले यस पेसाभित्र चुनौती, अवसर कष्ट र सन्तुष्टि पनि सबैकुरा पाइन्छ ।

हामीकहा क्लिनिकल अर्थात हस्पिटल नर्सिङ, सामुदायिक नर्सिङ र प्राज्ञिक गरी तीन किसिमको नर्सिङ सेवा सञ्चालित छन । त्यसैगरी अहिले १५ महिने तालिम प्राप्त अनमीदेखि स्नातकोत्तर डिग्री हासिल गरेका नर्सिङ जनशक्ति मुलुकभर क्रियाशील छन । भने २०६८ सालदेखि नर्सिङमा विद्यावारिधिको अध्यापन गराउने कार्यक्रम त्रिविले सुरु गरेको छ । यसरी गाउँको स्वास्थ्य चौकीदेखि विभिन्न अस्पताल हुँदै मन्त्रालय र विभागसम्म सेवारत नर्सिङ सेवाले मुलुकको स्वास्थ्य सेवामा योगदान पुर्याइरहेको छ । अर्कोतर्फ नर्सिङ सेवाले देशमा उच्च रहेको मातृमृत्यु दर र शिशु मृत्युदर घटाउन नर्सिङको भूमिका चिकित्सकको भन्दा उच्च रहेको छ ।

खासगरी नर्सिङ शिक्षा र सेवालाई बराबरी महत्व दिएर काम गर्ने अख्तियारी पाएको नेपाल नर्सिङ परिषदले आफ्नो उद्देश्यअनुसार काम गर्न सकेको छैन । नर्सिङ व्यवसायलाई सुचारुरुपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने, नर्सिङ व्यवसायीको कार्यसीमा निर्धारण गर्ने, नर्सिङ व्यवसायीको आचारसंहिता निर्धारण गर्ने र त्यस्तो आचारसंहिता उल्लंघन गर्ने नर्सिङ व्यवसायी उपर कारबाही गर्ने काम, कर्तव्य र अधिकारसमेत नेपाल नर्सिङ परिषद ऐन २०५२ को दफा ९ ले प्रष्ट पारेको छ ।

नेपालमा उत्पादित नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्नका लागि सुरुमा बेरोजगार नर्सहरुलाई नेपालमै रोजगारीको वातावरण सिर्जना गर्नु पर्दछ । सेबामात्र होइन आकर्षक तलब साथै अन्य सेवा सुविधाहरु बढाएर विदेश पलायन हुने नर्सहरुको मनस्थितिमा परिवर्तन ल्याउन पर्दछ । नर्सिङ समाजसेवाको पेशा हो । नर्सहरु आफ्नो दुख, पीडा र बिभिन्न कठिनाइका बाबजुद पनि दिनरात बिरामीको स्वास्थ्य स्थिति सुधार्न तत्पर हुन्छन । बिरामी निको पार्न अन्य स्वास्थ्यकर्मीको तुलनामा नर्सकै भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । नर्सलाई त्यतिवेला खुसी लाग्छ, जब एउटा विरामी हाँसीखुसी स्वास्थ्यलाभ गरि घर फर्कन्छ । यस्ता सिर्जनशील र कर्मठ जनशक्तिको उचित वृद्धिविकास र रक्षातर्फ राज्यले सोच्न सकेको छैन । न त अस्पताल सञ्चालकले नै यो सेवाको मर्म बुझन सकेका छन । त्यसैले गर्दा पनि देशमा अपमान भएको अनुभूति गर्दै कतिपय नर्सहरु बिदेशिन बाध्य छन ।

बिदेश नजाउन पनि किन रु देशमा न त नर्सको उचित तलब छ । कतिपय रोजगारीकै लागी महिनौं भोलिन्टियर बनेर शोषणमा पर्नु परेको छ । न त सेवाको कुनै मूल्याङकन नै हुन सकेको छ । कतिपय बिकसित देशमा नर्सको सेवा सुबिधा अन्य पेशाको भन्दा निकै उच्च छ । सम्मान पनि त्यत्तिकै गरिन्छ । आफुले गर्दै आएको सेवामा आत्मा संमान पाउन नसकेका नर्सहरुमा राम्रो काम र संमानको खोजिमा बिदेशिने संभावना बढदै गएको छ । नेपालमा अधिकांश नर्सहरु काम गर्दागर्दै विदेश जाने तयारीमा लागेको पाइन्छ । अहिले नेपालबाट जागिर छाडेर अस्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिका जाने नर्सको संख्या दिनप्रतिदिन बढ्दो छ । अहिले नेपालमा एउटा स्टाफ नर्सको मासिक तलब १० देखि २२ हजार रुपैयाँसम्म हुन्छ । तर विदेशमा एउटा नर्सले मासिक एकलाख भन्दा बढीसम्म तलबसुविधा पाउने गर्दछन् ।

नेपाल बाट कामको लागी बेलायत पुगेका नेपाली नर्सहरको सख्या अहिलेसम्म पाँच हजारभन्दा पनि धेरै पुगेको छ । बेलायतको स्वास्थ्य क्षेत्रको कानुन अनुसार एनएमसीबाट पिन नम्बर लिएका नर्सहरुमात्र यहां योग्य रजिष्टर्ड नर्स मानिन्छ । उनीहरुले प्रत्येक वर्ष आफ्नो लाइसेन्स नवीकरण गर्न पर्दछ । जति नै सिनियर नर्स भए पनि बेलायतमा समय अनुसार नयाँ कोर्स गरी रहनु पर्दछ । बेलायतमा एनएमसीमा दर्ता भएका नेपाली नर्सहरुको संख्या २ हजार ८ सय रहेको छ । राम्रो तलब र अन्य सुबिधा पाउने भएकोले नर्सिङ अध्यन गरेका धेरै नर्सहरु बेलायत जाने सोचमा समेत रहेको पाइन्छ । बास्तवमा नर्स अस्पतालमा बिरामीहरुका लागि आमाको जस्तै भूमिकामा रहेको हुन्छ । निसंकोच बिरामीको व्यक्तिगत सरसफाइमा पनि नर्स लागिपरेका देखिन्छ । त्यसैमा उनीहरु रमाएका हुन्छन । कतिपय अवस्थामा त बिरामीका आफन्तले पनि नगरिदिएका सरसफाइ नर्सले नै गरिदिएका हुन्छन । यो उनीहरुको सेवालाई सबैले संमान गर्नु पर्दछ ।

नर्सिङ शिक्षाका पनि विभिन्न तह कायम छन । जस्तैः प्रवीणता प्रमाणपत्र, स्नातक, स्नातकोत्तर र पीएचडी । यसमध्ये स्नातक, स्नातकोत्तर र पीएचडीचाहि नर्सिङ व्यवस्थापन, खोज र अनुसन्धानसँग सम्बन्धित छन । यी तहले नर्सिङ विषयका उच्च जनशक्तिको उत्पादन गर्छन । त्यसै गरी नर्सिङ शिक्षाका प्रारम्भिक तहका पाठ्यक्रममा पनि जीवशास्त्र, रसायनशास्त्र, औषधिशास्त्र र मानवशास्त्रको समायोजन समानुपातिक रुपमा गरिएको हुन्छ । जुन कारणले उनीहरुको शैक्षिक धरातल अझ फराकिलो पार्दछ ।

नेपालमा उत्पादित नर्सिङ जनशक्ति बिरामीसंग सम्बन्धित प्राथमिक सेवामा मात्र सीमित नभएर विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने बायोमेडिकल टेक्नोलोजीको ज्ञान र सीपका धनी छन । नर्स बन्नका लागि के कति ज्ञानको जरुरी हुनुपर्छ, सम्भवत सबै दायरा प्रारम्भिक पाठ्यक्रमले नै समेटेको छ । वास्तवमा नर्सिङ शिक्षाको पाठ्यक्रम सर्वोत्कृष्ट छ । अहिले हाम्रा अस्पताल र स्वास्थ्य केन्द्रमा नर्सिङ सेवा पूर्ण रुपमा मेकानिकल भइरहेछ ।

टेम्परेचर, पल्स, रेस्पिरेसन, ब्लड प्रेसर लिनु र मेडिकेसन गर्नु नर्सको मुख्य काम भइरहेको छ । यो बाहेक अस्पतालमा बिरामी विभिन्न समस्या लिएर आएका हुन्छन । उनीहरुको बानीब्यहोरा, रहनसहन, धर्म, जीवनशैली सबै फरक हुन्छन । यी कुराहरुलाई पनि ध्यानमा राखेर नर्सले काम गर्नुपर्ने हुन्छ । अस्पताल पुगेका अधिकांश बिरामीले डाक्टरलाई देवता ठान्छन भने नर्सलाई भने उसको सेवाको कदर नगरि खाली दोषदिने प्रचलन छ । बिरामीलाई अलिकति असुबिधा भएमा नर्सले नहेरेको भन्दै दोष नर्सहरुलाई दिने गरिन्छ । त्यसैले नर्सिङ पेसामा चुनौतीपूर्ण मानिन्छ ।

नर्सहरुले आफ्नो घरपरिवारलाई प्रशस्त समय दिन सक्दैनन् । बिरामीको चाप अनुसार कहिले बिहान, कहिले बेलुका, कहिले राति, कहिले त चौबीसै घन्टा पनि ड्युटी गर्नुपर्ने हुन्छ । बिबाहित नर्स छन भने छोराछोरीका लागि पनि समय दिन सक्दैनन् । यो प्रायः सबै नर्सहरुको समस्या हो । नर्सिङ भनेको यस्तो पेसा हो जसमा केवल शिक्षा वा डिग्री मात्र भएर हुँदैन, यसमा बिरामीप्रति आत्मीयता, माया र सद्भावको भावना पनि हुनु उत्तिकै जरुरी छ । नर्सले एउटा बिरामीको सेवा गर्दा उसका लागि आमा बनेर औषधि खुवाउनुपर्छ भने अर्को क्षणमा उसको घनिष्ट मित्र पनि बन्नुपर्ने जरुरी हुन्छ । नर्सले आफ्नो व्यवहारभन्दा पनि बिरामीको चालचलन र व्यवहारअनुसार चल्नु पर्दछ । समग्रमा भन्नु पर्दा नर्सको पेशामा लागेकाहरुले पेशा अत्यन्त मानविय सेवा भएपनि विभिन्न कठिनाई संग जुधनु पर्दछ । यस्तो सेवालाई राज्यले उचित सेवा र सुविधा दिएर स्वदेशमानै रोजगारीको व्यवस्था मिलाउनु पर्दछ ।



Comments