full screen background image
Search

आज विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मदिन

Buddha Jayantiजेठ ८ काठमाडौँ: आज २५६० औ बुद्धजयन्ती। विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मदिनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण बौद्ध धर्मावलम्बीलगायत शाक्यमुनि बुद्धको भ्रातृत्व, शाति, अहिंसा र करुणामा विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सबै महानुभावमा शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज सन्देश दिँदै विविध जातजाति, भाषाभाषी, र धार्मिक तथा साँस्कृतिक सम्प्रदायबीच सहिष्णुता कायम गरी राष्ट्रिय एकतालाई बलियो बनाउने अभियानमा सिद्धार्थ गौतमबुद्धका उपदेश तथा मार्गदर्शन सबैका लागि प्रेरणादायी एवम् अनुकरणीय रहेको उल्लेख गरेकी छन्।
बौद्धदर्शनलाई जीवनमा आत्मसात् गर्दै स्थापित चार आर्य सत्यलाई अङ्गीकार गर्न सके आन्तरिक शान्ति प्रवद्र्धन हुने उनको भनाइ छ। गौतमबुद्धको सद्भाव, मेलमिलाप र सहअस्तित्वको भावनाले हामीलाई निरन्तर प्रेरित गरिरहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति भण्डारीले अशान्ति, हिंसा र द्वन्द्वले आक्रान्त आजको विश्वमा शान्तिदूत बुद्धले अवलम्बन गरेको अहिंसावादी सिद्धान्त अझ बढी उपयोगी र सान्दर्भिक रहेको बताएकी छिन्।
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले शान्ति, अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय रहेको बताएका छन्। उनले विश्वभरका मानिस भौतिक र आत्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्वसन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्व वचनहरुको महत्व र सान्दर्भिकता अझै बढ्दै गएको उल्लेख गरेका छन्। रासस 


Comments